सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।
माघ २२ देखि फागुन ३ गतेसम्म जिल्लाका ११,५५५ जना किशोरीलाई पाठेघरको मुखमा लाग्ने क्यान्सर (एचपिभी) को खोप लगाइने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार महिलाको पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न यो खोप अभियान सञ्चालन गरिने छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार यो वर्ष १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका युवतीलाई खोप लगाइने छ। पहिलो चरणमा माघ २२ देखि २८ गतेसम्म छ पालिकामा र दोस्रो चरणमा फागुन ३ सम्म चार पालिकामा खोप लगाइने योजना छ।
खोप अभियानका लागि ३१५ स्वास्थ्यकर्मी, ६२६ स्वयंसेविका परिचालन गरिनुका साथै ३१२ खोप केन्द्र स्थापना गरिएको छ।
स्त्रीरोग विशेषज्ञ विजय ओझाका अनुसार नेपालमा दैनिक चारजना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गर्दछ। उनका अनुसार किशोरीलाई शारीरिक सम्पर्कमा आउनुअघि खोप लगाउँदा क्यान्सरबाट बच्न सकिने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई प्राथमिकतामा राखिएको हो।