सामाजिक फीड–
जनकपुरधाम, माघ ८ गते।
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजाति समुदायका आदिकविहरूको नाम र सालिक उपलब्ध गराउन आग्रह गर्नुभएको छ। शीतल निवासमा आज आयोजित कार्यक्रममा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले उक्त सुझाव दिनु भएको हो।
राष्ट्रपति पौडेलले आयोगलाई मगर, राई लगायत अन्य आदिवासी जनजाति समुदायका विभिन्न जातिहरूका आदिकविहरूको नाम र सालिक संकलन गर्न आग्रह गर्दै, यसका आधारमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको जानकारी दिनुभयो।
उहाँले थप्नुभयो, “४ सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको छ। त्यहाँ बनाइने मूर्तिमा विभिन्न जातजातिका आदिकविको मूर्ति राखिनेछ।”
राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य र कलाको संरक्षण, सम्वर्द्धन तथा विकासका लागि आयोगलाई संविधान र कानूनले महत्त्वपूर्ण जिम्मेवारी दिएको पनि स्मरण गराउनुभयो।