Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ ३ गते – जनकपुरधाम

रौतहटको गुजरा नगरपालिका–१ कोठियारमा लमाहा खोलामा निर्माणाधीन प्रिस्ट्रेस आरसीसी पुल पाँचपटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने १२५ मिटर लामो पुलको ठेक्का श्री पप्पु/शिवशंकर जेभी गरुडा, रौतहटले २०७३ जेठ २ गते लिएको थियो।

पुल निर्माणको म्याद २०७५ असोज १५ सम्म राखिएको भए पनि ठेकेदारको चरम लापरवाहीका कारण अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी ई. शिवनारायणप्रसाद साहले जानकारी दिए।

पाँचपटक म्याद थप्दा पनि निर्माण कार्य सम्पन्न हुने सम्भावना अन्योलमै छ। ठेकेदार कम्पनीले एकै समयमा ६ वटा पुल निर्माणको ठेक्का लिएर काममा ढिलाइ गरेको बताइएको छ।

९ करोडको ठेक्का, ५ करोडभन्दा बढी भुक्तानी

पुल निर्माणको लागि ९ करोड २२ लाख ७७ हजार ५५९ रुपैयाँको ठेक्का लागेको थियो। हालसम्म ५ करोड ४५ लाख ४५ हजार ८२८ रुपैयाँ भुक्तानी भइसकेको छ।

स्थानीयको सास्ती

पुल समयमै पूरा नहुँदा स्थानीयवासीले ठूलो समस्या झेल्नुपरेको छ। कोठियारका राजकुमार कटुवाल भन्छन्, “पुल बन्ने आशामा ८ वर्ष खेर गयो। अब त आशा नै मरिसक्यो।”

सिम्राका सुनिल चौधरीले गुनासो गर्दै भने, “मोटरसाइकल र साइकल डोर्‍याएर हिँड्नुपर्छ। यो समस्या कहिले समाधान हुन्छ थाहा छैन।”

पुल नबन्दा किसानलाई खेतबारी जान र यात्रुहरूलाई आवतजावतमा समस्या भइरहेको छ। स्थानीयले ठेकेदारलाई शीघ्र काम सम्पन्न गर्न र लापरवाहीको जिम्मेवारी तोक्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *