सामाजिक फीड–
जनकपुरधाम, पुस २९ गते ।
सर्लाही प्रहरीले अपहरणमा परेका भारतका १५ वर्षीय बालकलाई सकुशल उद्धार गरेको छ। बालकलाई ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट उद्धार गरिएको हो।
यस घटनामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ब्रम्हपुरी गाउँपालिका–४ का ६८ वर्षीय रामजी साह, १९ वर्षीय बिक्रम पासवान, र भारतको बिहार राज्य, सितामढी जिल्लाका २७ वर्षीय प्रवचन साह रहेका छन्। प्रवचन साह राम पुकार साहका छोरा हुन्।
पक्राउ परेकाहरूबाट प्रहरीले कटुवा पेस्तोल एक थान, दुई राउण्ड गोली, एक थान मोबाइल, धारिलो चक्कु, हथौडा, र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ। यसका लागि जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।