सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकारसँग आग्रह गर्नुभएको छ।
नेपालका लागि इजरायलका राजदूत समूलिक एरी बाससँग मंगलबार भएको भेटमा मन्त्री राणाले विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग अनुरोध गर्नुभएको हो।
हमासले आफ्नो नियन्त्रणमा रहेका ३४ जना बन्धकलाई मुक्त गर्न लागेको समाचारलाई ध्यानमा राख्दै मन्त्री राणाले विपिन जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
राजदूत बासले हमासले वृद्धवृद्धा, महिला, बालबालिका तथा नाजुक स्वास्थ्य अवस्थाका नागरिकको रिहाइका लागि पहिले नै सूची पठाएको र उनीहरुको मुक्तिको पहिलो चरणको तयारी भइरहेको जानकारी गराउनुभएको छ।
२०८० असोजमा हमासको आक्रमणपछि बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि हाल सामाजिक सञ्जालमा ह्यासट्याग ट्रेन्ड चलाइएको छ। यद्यपि, हालै मुक्त गर्न लागिएको ३४ जनाको सूचीमा जोशीको नाम समावेश छैन। विपिनको रिहाइ सुनिश्चित गर्न थप दबाब दिने उद्देश्यले सामाजिक अभियान चलाइएको हो।