सामाजिक फीड-
जनकपुरधाम, पुस २५ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) सामान्य भाइरस भएको प्रष्ट पारेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण जनाउँदै यस्ता हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको छ।
मन्त्रालयले जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु सामान्य मानिने बताउँदै एचएमपीभी नयाँ भाइरस नभएको प्रष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “मानव मेटाप्न्यूमो भाइरस साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जुन नेपालमा विगतमा पनि देखिएको थियो। यसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि नेपालले आवश्यक तयारी गरिसकेको छ।”
मन्त्रालयले यो भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्धहरूमा मात्र सङ्क्रमण हुने सम्भावना रहेको जानकारी दिएको छ। तथापि, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध
मन्त्रालयले एचएमपीभीलगायत अन्य सङ्क्रामक रोगहरूसँग जुध्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपिल गरेको छ। व्यक्तिगत सुरक्षाका उपायहरू जस्तै मास्क लगाउने, भीडभाडमा नजाने, बिरामीको सम्पर्कमा नजाने, साबुनपानीले हात धुने, र स्वास्थ्य समस्या आएमा चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ।
त्यसैगरी, स्वास्थ्यमा कुनै समस्या आएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले सुझाव दिएको छ।