सामाजिक फीड –
जनकपुरधाम, पुस २२ गते ।
रौतहटको गौर नगरपालिका–२ मा रहेको ऐतिहासिक बानेश्वरनाथ मन्दिरको उत्खननका क्रममा सातसय वर्ष पुराना इँटा र अन्य अवशेषहरू फेला परेका छन्। पुरातत्व विभागको टोलीले १२ दिनदेखि उत्खनन गरिरहेको छ। उत्खननको क्रममा देशमै पहिलो पटक औंलाको छाप भएको इँटा भेटिएको पुरातत्वविद् देबेन्द्रनाथ तिवारीले जानकारी दिए।
तिवारीले भने, “मैले धेरै ठाउँमा उत्खनन गरेको छु, तर यस्तो औंलाको छाप भएको इँटा पहिलोपटक भेटिएको हो। यहाँ पाइएको इँटा १५–२० प्रतिशत मात्र रहेको अनुमान छ।“
उत्खननका क्रममा दुईवटा बुद्धकालीन इँटा, बुट्टेदार इँटा, माटोको भाँडाका टुक्रा, र बच्चाले खेल्ने घोडाको टुक्रा पनि फेला परेको छ। ती इँटाहरू बाराको सिम्रौनगढ दरबारको इँटासँग मिल्दोजुल्दो भएकोले, अवशेष करिब सातसय वर्ष पुराना रहेको अनुमान गरिएको छ।
तिवारीले भने, “भेटिएका अवशेषहरूले यो क्षेत्र सयौं वर्षअघि पर्यटकीय र सांस्कृतिक रूपमा समृद्ध स्थल भएको प्रमाणित गर्छ।“
गौर नगरपालिकाका मेयर सम्भु साहले २०७४ सालमा चुनाव लड्ने क्रममा यस मन्दिरको ऐतिहासिक महत्त्वबारे जानकारी पाएको बताए। मेयरमा निर्वाचित भएपछि उनले पुरातत्व विभागसँग समन्वय गरेर उत्खनन सुरु गराएका हुन्।
“मेयरका रूपमा दोस्रो कार्यकाल सुरु भएदेखि नै पुरातात्विक संरचना संरक्षण र यसलाई पर्यटकीय स्थलमा विकास गर्ने मेरो उद्देश्य थियो,“ मेयर साहले भने।
उनले यस मन्दिरमा रहेको शिवलिंगको टुप्पोमा रहेको कछुवाको छाप अन्यत्र कतै नभएको दाबी गरे।
पुरातत्वविद् तिवारीको नेतृत्वमा तीन सदस्यीय टोलीले आठ दिनभित्र उत्खनन सम्पन्न गरी १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ। मेयर साहका अनुसार स्थानीय बासिन्दाको चाहनाअनुसार अवशेषहरूको संरक्षण गर्दै क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गरिने छ।
“यस मन्दिरको संरक्षण र प्रचार–प्रसारले गौरको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्नेछ,“ साहले थपे।