सामाजिक फीड-
पुष १९ गते – जनकपुरधाम
दक्षिणी क्यालिफोर्नियाको एक व्यावसायिक भवनमा सानो विमान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान स्थानीय समयअनुसार करिब २:१५ बजे भएको हो।
दुर्घटना फर्निचर कारखाना रहेको भवनमा भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये १० जनाको अस्पतालमा उपचार भइरहेको छ भने आठ जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ।
संघीय हवाई प्रशासनका अनुसार दुर्घटनाग्रस्त विमान ‘भ्यान्स आरभी टेन’ मोडलको एकल इन्जिन भएको विमान थियो। तर, दुर्घटनाको कारणबारे अझै स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
दुर्घटनामा मृत्यु भएका दुई जनाबारे पनि पहिचान खुलाइएको छैन। ती व्यक्ति विमानमा सवार थिए वा फर्निचर कारखानामा कार्यरत कर्मचारी हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।
घटनामा घाइतेमध्ये कम्तीमा १२ जना कारखानाका कामदार रहेको पुष्टि भएको छ। संघीय हवाई प्रशासनले दुर्घटनाबारे विस्तृत जानकारी दिन बाँकी छ।