सामाजिक फीड-
जनकपुरधाम, पुस ११ गते ।
धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा करिब ५० वर्षीया रेशमी देवी बिनको हत्या भएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार, उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको हो ।
हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान दशैया मुखिया बिनलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार, घरायसी विवादका क्रममा मदिराले लठ्ठिएका दशैयाले हत्या गरेर शव गाडेको खुलेको छ।
प्रहरीका अनुसार, मृतक दम्पतीबीच दिनहुँजसो विवाद हुने गरेको थियो । घटनाको दिन बुधबार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच झगडा भएको थियो। मृतककी बुहारीले प्रहरीलाई दिएको बयानअनुसार, साँझ उनले सासुको खोजी गर्दा दशैयाले घर पछाडि मारेर फालिदिएको बताएका थिए।
बुहारीले प्रहरीलाई खबर गरेपछि शौचालय पछाडिको खाल्डो खन्दा रेशमी देवीको शव भेटिएको प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।