Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू उपस्थित नरहेको गुनासो बढ्दै गएपछि कडाइका साथ कारबाही गर्ने तयारी थालेको छ।

मन्त्रालयद्वारा स्थापना गरिएको ‘हेल्लो स्वास्थ्य १११५’ गुनासो सुनुवाइ एकाइमा चिकित्सकहरू कार्यालय समयमा अनुपस्थित रहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सम्बद्ध अधिकारीहरूलाई दोषी पाइए कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले यसअघि नै विद्युतीय हाजिरी अनिवार्य गराउन आदेश दिएका थिए। उनले नियमित रूपमा ‘हेल्लो स्वास्थ्य’ मा आएका गुनासोको सुनुवाइ गर्दै सुधारका लागि सम्बद्ध अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।

स्वास्थ्य मन्त्रालयले मातहतका सबै अस्पताललाई पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाहको सुनिश्चितता गर्न निर्देशन दिएको छ। गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कार्यकक्षमा रहँदै सेवा प्रवाह गर्न र कार्यालय समयमा बाहिर जानु परे लगबुकमा दर्ता गरेर मात्र जान व्यवस्था मिलाउन भनिएको छ।

मन्त्रालयले विद्युतीय हाजिरी अनिवार्य गर्नसमेत अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बारम्बार चिकित्सकहरू कार्यालय समयमा अनुपस्थित रहेको गुनासो आएपछि अनुगमनको तयारी भइरहेको बताए।

“कार्यालय समयमा सेवामा उपस्थित हुनु सबैको कर्तव्य हो,” प्रवक्ता बुढाथोकीले भने, “यसलाई कडाइका साथ लागू गरिनेछ। अनुगमनमा दोषी भेटिए कडा कारबाही गरिनेछ।” उनले गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य’ मा सेवा सम्बन्धी समस्या टिपाउन आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयले यस कदमबाट सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *