सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।
मुख्यमन्त्री सतीश कुमार सिंहले संघीय सरकारको गलत नियत र नीतिका कारण मधेश प्रदेशको शिक्षा क्षेत्रमा पछाडि परेको आरोप लगाएका छन्।
जनकपुरधामस्थित अक्षर विद्या मन्दिरको ११औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको र शिक्षामा गुणात्मक सुधार गर्न अवरोध पुर्याएको बताए। “संघीय सरकारले प्रदेश गठन गरिदिएको छ तर प्रदेश सरकारलाई न शासन छ, न प्रशासन, न कुनै नीति,” उनले भने।
मुख्यमन्त्री सिंहले संघीय सरकारले मधेशलाई हेर्ने दृष्टिकोण कमजोर रहेको र यसै कारण मधेशको शिक्षा प्रणाली प्रभावित भएको बताए। उनले मधेशको शिक्षामा गुणस्तर सुधारमा जोड दिनुपर्नेमा हालसम्म मात्र संख्यात्मक वृद्धि गरिएकोमा असन्तुष्टि जनाए।
कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले मधेश प्रदेशको शिक्षा प्रणालीलाई योजनाबद्ध रूपमा पछाडि पार्ने षड्यन्त्र भइरहेको दाबी गरिन्। “कुनै समय मधेशकै शिक्षकले देशभरी शिक्षा प्रदान गर्दै आएका थिए, तर अहिले मधेश शिक्षा क्षेत्रमा पछाडि परेको देख्दा दुःख लाग्छ,” उनले भनिन्।मन्त्री तिवारीले संघीय सरकारसँग समन्वय गरी शिक्षा क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन्।