सामाजिक फीड-
जनकपुरधाम, पुस ५ गते ।
जनकपुरधामको विद्यापति चोकस्थित दुर्गा मन्दिर परिसरमा आज बिहान एक पुरुषको शव फेला परेको छ। मृतकको उमेर अन्दाजि ४५–५० वर्षको रहेको र पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ।
शवको मुखमा कुनै वस्तुले प्रहार भएको देखिएको र घटनास्थलमा ईटा फेला परेका कारण हत्या भएको आशंका गरिएको छ। धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार घटनास्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको छ।
स्थानीयले राति केही व्यक्तिले मापसे गरी होहल्ला गरेको सुनेको बताए। उनीहरूका अनुसार मन्दिर छेउमा यस्ता गतिविधि नियमित रूपमा हुने गरेकाले यसपटक पनि बेवास्ता गरिएको थियो।
धनुषा प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।