Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

एनपिएल (नेपाल प्रिमियर लिग) को दोस्रो क्वालिफायर खेल बिहीबार (आज) कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच त्रिवि मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे सुरू हुँदैछ।

कर्णाली याक्सले बुधबार इलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो। चितवनविरूद्ध कर्णालीका लागि डेब्यु गरेका भारतीय ब्याट्सम्यान जयकिशन कोल्सावालाले उत्कृष्ट प्रदर्शन गरेका थिए। विलियम बसिस्टो र चाडविक वाल्टनले समेत उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

बलिङतर्फ जिशन मक्सुद, नन्दन यादव, र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई जित दिलाए।

जनकपुर बोल्ट्स समूह चरणपछि दोस्रो स्थानमा रहँदै क्वालिफायर पुगेको थियो। तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो।

जनकपुरका कप्तान अनिल साह चोटका कारण पहिलो क्वालिफायर गुमाएका थिए। उनी आजको खेलमा सहभागी हुने नहुनेबारे टिमले कुनै औपचारिक जानकारी दिएको छैन। उनको अनुपस्थितिले टिमलाई केही असर पर्न सक्ने आँकलन गरिएको छ।

लिग चरणमा जनकपुरले कर्णालीलाई सजिलोसँग हराएको थियो। १४१ रनको लक्ष्य जनकपुरले २ विकेट गुमाउँदै १५.१ ओभरमै पूरा गरेको थियो।

आजको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ। जनकपुरका मार्की खेलाडी आशिफ शेखले फाइनलमा पुनः सुदूरपश्चिमसँग भिड्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *