सामाजिक फीड-
२६ गते जनकपुरधाम
मधेश प्रदेशका स्थानीय तहका कर्मचारीहरु पदस्थापनको माग गर्दै आन्दोलित भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लोखनाथ पौडयाललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्नो माग पुरा गर्न आग्रह गरेका छन्।
गण्डकी प्रदेशमा लागू गरिएको स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७९ अनुसार कुनै पनि स्थानीय तहमा सिफारिस भई नियुक्ति भएका कर्मचारीहरुलाई कामकाजमा खटिएको कार्यालयबाटै पदस्थापन हुने व्यवस्था गरिएको छ। तर, मधेश प्रदेशमा यस्तै खालको स्पष्ट कानुनी व्यवस्था नभएका कारण कर्मचारीहरु विचल्लीमा परेको गुनासो गरेका छन्।
लक्ष्मीनिया गाउँपालिकाका एक कर्मचारीका अनुसार, पदस्थापनको अभावले वृति विकासमा गम्भीर असर पुगेको छ। मधेश प्रदेश सरकारको उदासीनताका कारण पदस्थापन प्रक्रिया प्रभावित भएको आरोप उनीहरुले लगाएका छन्।
पदस्थापनका लागि कार्यालय दौडधुप गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको र सार्वजनिक सेवा प्रवाह कार्यसमेत प्रभावित भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन्।
सरकारले उनीहरुको जायज मागमा गम्भीर चासो नदिए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी कर्मचारीहरुले दिएका छन्।