सामाजिक फीड-
जनकपुरधाम, मंसिर २३ गते ।
जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव रामकलेवा सम्पन्नसँगै समापन भएको छ। जन्तीको रूपमा आएका साधु–सन्तलाई ५६ प्रकारका मिष्टान्न भोजन गराएर दानदक्षिणासहित शनिबार बिदाइ गरिएको हो ।
शुक्रबार राम र सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि शनिबार जानकी मन्दिर परिसरमा राम, लक्ष्मण, भरत, शत्रुघनको प्रतिकात्मक बालबालिका र साधु–सन्तलाई मिष्टान्न भोजन गराइएको छ । उनीहरुलाई परम्परागत गालीगीत गाएर विदाई गरिएको छ । यो विधि ‘रामकलेवा’ नामले परिचित छ।
रामकलेवाको दृश्यावलोकन गर्न जनकपुरधाममा दर्शनार्थीहरूको घुइँचो लागेको थियो। यससँगै मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ।
महोत्सवको प्रत्येक दिन विशेष धार्मिक गतिविधि सम्पन्न गरियो। पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, र छैटौँ दिन विवाहपञ्चमीका विविध कार्यक्रम आयोजना गरिएका थिए।
त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिमा भगवान राम र देवी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव धूमधामसँग मनाइने परम्परा छ।