सामाजिक फीड-
१९ गते जनकपुरधाम
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले सन्दीप लामिछानेको कप्तानीमा पहिलो जित हात पारेको छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै विराटनगरले लगातार दुई हारपछि जितको खाता खोलेको हो।
लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो।
रोमाञ्चक अन्तिम ओभर
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो। क्रिजमा रहेका सन्दीप लामिछाने र दीपक बोहरा दबाबमा थिए। बलिङमा रहेका विवेकले पहिलो बलमा वाइड फालेपछि सन्दीपलाई आउट गरे। दोस्रो बलमा क्रिस सोलले डट खेले, तर त्यसपछि लगातार तीन बाउण्ड्री हान्दै खेल आफ्नो पक्षमा ल्याए।
सोलले तेस्रो बलमा छक्का र चौथो तथा पाँचौं बलमा चौका हानेर टोलीलाई रोमाञ्चक जित दिलाए। उनले ४ बलमा १४ रन बनाएर अविजित रहे। दीपक बोहरा ९ रनमा नटआउट रहे।
ओपनर लोकेश बमको उत्कृष्ट प्रदर्शन
विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाए। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। यस्तै, बसिर अहमदले २३ बलमा ४ चौका र १ छक्का मद्दतले ४० रन जोडे। मार्टिन गप्टिलले १७ बलमा ६ चौकासहित २८ रन बनाए।
लोकेश र गप्टिलले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे। लोकेशले पाँचौं विकेटका लागि बसिरसँग ८७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
लुम्बिनीको बलिङ प्रदर्शन
लुम्बिनी लायन्सका लागि दुरग्श गुप्ताले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। साद विन जफर र रामोन सिमोण्ड्सले समान २-२ विकेट लिए।
बलिङमा सबैभन्दा महँगा साबित भएका विवेकले ३.५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए।
यो जितसँगै विराटनगर किंग्सले लिगमा उत्साहजनक सुरुआत गरेको छ भने लुम्बिनीले आफ्नो पहिलो खेलमा हार बेहोर्यो।