सामाजिक फीड-
जनकपुरधाम, मंसिर १८ गते ।
जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ आयोजना हुँदैछ। धार्मिक मान्यता अनुसार, त्रेता युगमा भगवान रामले धनुषयज्ञमा भाग लिँदा, कसैले पनि उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनकले छोरी सीताको विवाह रामसँग गराएका थिए। यसै स्मृतिमा, जनकपुरधाममा हरेक वर्ष धनुषयज्ञको आयोजना गरिन्छ।
आज अपराह्नमा जानकी मन्दिर प्राङ्गणमा धनुषयज्ञ मनाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। यस क्रममा रामका प्रतीकस्वरूप बालबालिकाहरूले धनुष भाँचेर यो ऐतिहासिक घटना पुनःजीवित गराउने परम्परा छ।
धार्मिक कथनअनुसार, राजा जनकलाई उक्त शिवधनुष भगवान परशुरामले दिएका थिए। जनकले आफ्नो छोरी सीताको विवाह धनुष उठाउन सक्ने वीर पुरुषसँगमात्र गरिदिने प्रण गर्दै धनुषयज्ञको आयोजना गरेका थिए। यो धनुष कसैले पनि उठाउन नसकेपछि अयोध्याका रामले यसलाई उठाएर भाँचिदिएका थिए। त्यसपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ।
महोत्सवको दोस्रो दिन सोमबार साँझ विवाहमण्डपमा फूलबारी लिला मनाइएको थियो। यस अवसरमा राम र सीताको पहिलो भेटको स्मरण गरिन्छ, जहाँ सीताले रामलाई आफ्नो वर बन्ने कामना गरेको विश्वास छ। आइतबार, महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो।
आज धनुषा यज्ञ सकिएपछि भोलि चौथो दिन बुधबार तिल्कोत्सव रहेको छ ।
पाँचौदिन बिहीबार राम र जानकीको मटकोर, छैटो दिन शुक्रबार विवाहको मुख्य दिन विवाहपञ्चमी रहेको छ । सातौं दिन शनिबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।