सामाजिक फीड-
१६ गते जनकपुरधाम
धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा इन्सपेक्टर सोनु कुमार साहको नेतृत्वमा मुद्दा फर्छौट र अपराध न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। नागरिक सुरक्षाको अनुभूति र प्रहरीमा विश्वास बढाउन उनले गरेका कामहरूले गहिरो प्रभाव पारेका छन्।
इन्सपेक्टर साहले ईलाका क्षेत्रमा हुने अपराधिक गतिविधिको आँकडा न्यून गर्दै ९० प्रतिशत मुद्दा फर्छौट गर्न सफल भएका छन्। उनले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्तलाई पक्राउ गर्न र करिब ४ लाख रुपैयाँ जरिवाना संकलन गर्न सफल भए।
उनको कार्यकालमा भन्सार राजस्व छली नियन्त्रणमा १९ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरिएको छ भने अवैध बालुवा–गिट्टी र घरेलु मदिरा नियन्त्रणमा समेत ठोस कदम उठाइएको छ।
साहको नेतृत्वमा प्रहरीबाट जारी ३० हुलियामध्ये १९ जनाको पहिचान गरिएको छ। साथै, ३२४ उजुरीमध्ये २१४ उजुरी फर्छौट गरिसकिएको छ। उनी विवाद समाधानका लागि स्थानीयस्तरमै समाधान खोज्ने प्रयासमा सक्रिय छन्।
सुविधा सुधारमा पनि इन्सपेक्टर साहको योगदान उल्लेखनीय छ। उनले कार्यालयमा सिसिटिभी जडान, नयाँ गेट निर्माण, र प्रतिक्षालय निर्माण गरी कार्यालयको कार्यक्षमता र मर्यादा बढाएका छन्।
महेन्द्रनगर ईलाका प्रहरी कार्यालयले इन्सपेक्टर साहको नेतृत्वमा सुरक्षाको नयाँ मापदण्ड स्थापित गर्दै नागरिकहरूलाई सेवा दिने प्रयासलाई थप मजबुत बनाएको छ।