सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।
जनकपुरधाममा हरेक वर्ष सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताको विवाहको सम्झनामा मनाइने यो महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको श्रृंखला आयोजना गरिन्छ।
महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम रहेको छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो दिन मंगलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव आयोजना हुने जनाइएको छ। पाँचौं दिन मंसिर २० गते मटकोर र छठौं दिन मंसिर २१ गते रामसीता स्वयंवर तथा विवाह समारोह सम्पन्न हुनेछ। मंसिर २२ गते रामकलेवा गरेर अयोध्याबाट आएका जन्तीका साधुसन्तलाई बिदाई गरिनेछ, जसपछि महोत्सवको समापन हुनेछ।
नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीक स्वरूप दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा परिक्रमा गराइने कार्यक्रम रहेको सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।