Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १५ गते ।

धनुषामा विवाहको विषयलाई लिएर भएको विवादले एक युवतीको ज्यान गएको छ। जनकनन्दिनी गाउँपालिका–५ उधाटोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो।

रेखाको शव मंसिर ८ गते दिउँसो जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानपछि धनुषा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे, २० वर्षीय ज्ञानेन्द्र दास, र शहीदनगर नगरपालिका–८ नाथपट्टीका २४ वर्षीय रमेश कुमार मण्डल रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार मृतक रेखाको हत्याका मुख्य अभियुक्त रामललित खत्वे हुन्। रेखा र रामललितबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो। विवाह गर्ने विषयमा भएको विवादकै कारण हत्या भएको अनुसन्धानबाट खुलेको डिएसपी सिंहले जानकारी दिए।

प्रहरीका अनुसार रेखाको परिवारले रामललितसँगको विवाह स्वीकार गर्न नमानेपछि रेखाले घरबाट भागेर विवाह गर्न दबाब दिएकी थिइन्। तर, रामललितले नेपाली सेनामा आवेदन दिएकाले जागिर पाएपछि मात्र विवाह गर्ने भनेका थिए।

हत्या योजनामा रामललितले साथीहरू ज्ञानेन्द्र र रमेशको सहयोग लिएको अनुसन्धानमा खुल्न आएको छ। रेखालाई भेटघाटका लागि बोलाई घटनास्थलमा पुगेपछि रामललितले ढुंगाले प्रहार गरी बेहोस बनाए। त्यसपछि घाँटी रेटेर उनको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका अभियुक्तहरूलाई प्रहरीले गत बिहीबार पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *