सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।
सरकारले यस वर्ष उखुको समर्थन मूल्य बढाएको छ। गत वर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्दै नयाँ मूल्य ५८५ रुपैयाँ तोकिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगीले किसानलाई तिर्नुपर्ने यो नयाँ दर स्वीकृत गरेको हो।
उखु किसानलाई अनुदानस्वरूप प्रदान गरिने रकमबारे भने सरकारको निर्णय हुन बाँकी छ। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदान वृद्धि गर्न प्रस्ताव गरे पनि देशको आर्थिक अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय पछि गर्ने मन्त्रिपरिषद्ले जनाएको छ।
यसअघि, सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो, जुन उद्योगीहरूको माध्यमबाट किसानसम्म पुग्थ्यो। अनुदान वृद्धि हुने वा स्थिर रहने विषयमा चाँडै टुंगो लाग्ने अपेक्षा गरिएको छ।