सामाजिक फीड-
जनकपुरधाम, मंसिर १३ गते ।
बाराको कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । सात महिनादेखि फरार बारा आदर्शकोतवाल गाउँपालिका–२ निवासी ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई मोरङबाट प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपाली सेनाका भगौडा रहेका सुरेन्द्र गाउँघरमा अराजक गतिविधिमा सक्रिय हुने गरेका थिए ।
बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले सुरेन्द्रलाई आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
२ जेठ २०८२ मा क्याम्पस प्रमुख कुशवाहाको आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया भन्ने ठाउँमा गोली प्रहार गरी हत्या गरिएको थियो। कलैयातर्फ जाँदै गर्दा भएका उक्त हमलापछि गम्भीर अवस्थामा रहेका कुशवाहाले मृत्यु पूर्व आरोपी सुरेन्द्रकै नाम लिएका थिए।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता पुष्टि गरेको छ। यसअघि पक्राउ परेका आरोपीहरूमध्ये केही धरौटीमा छुटेका छन् भने अन्य आठ जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
घटनामा प्रयोग भएका सामग्रीमध्ये दुई थान पेस्तोल, सात राउन्ड गोली, चार थान मोटरसाइकल, चार मोबाइल, दुई ल्यापटप, र सात सिम कार्ड बरामद गरिएको थियो।
पक्राउ परेका सुरेन्द्रमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता भएको छ। डिएसपी सापकोटाका अनुसार सुरेन्द्रको प्रारम्भिक सुनुवाइ समेत सम्पन्न भइसकेको छ।