सामाजिक फीड-
मंसिर ७, जनकपुरधाम ।
सशस्त्र प्रहरीका सई थमन बिकको हत्या प्रकरणमा संलग्न एक फरार अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्।
महोत्तरीको जलेश्वर नगरपालिका-६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जलेश्वर कारागार पठाइएको छ। कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
देवेन्द्र चौधरीलाई गत कात्तिक २ गते जलेश्वर नगरपालिका-१ स्थित रामानन्द बिशेश्वर महेन्द्र क्याम्पस अगाडि पक्राउ गरिएको थियो। त्यसपछि प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो।
सई थमन बिकको हत्या दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ साल भदौ २५ गते महोत्तरीमा भएको थियो। उक्त घटनामा संलग्नताको आरोपमा चौधरीलाई लामो समयपछि नियन्त्रणमा लिइएको हो।