सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ३० गते ।
धनुषा र सिराहाको सीमावर्ती कमला नदीमा आज कात्तिक पूर्णिमाको अवसरमा भूत मेला लागेको छ । भोरैदेखि श्रद्धालुहरूको भीड कमला नदीमा स्नान गर्न जम्मा भएको छ।
हिजो साँझदेखि नै विभिन्न गाउँका धामी–झाँक्रीहरू र गाउँवासीहरू धनुषा र सिराहाको सीमामा पर्ने सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायत घाटहरूमा पुगेका छन्।
यस दिन कमला नदीमा स्नान र विशेष विधिका माध्यमबाट भूत–प्रेत, बैताल र देवी–देवताहरूको गुहार गर्दा समस्याबाट मुक्त हुन सकिने जनविश्वास छ। धामी–झाँक्रीहरूले आजको दिन भूत र कुल देवताको पूजा गर्ने परम्परा रहेको स्थानीयहरू बताउँछन्।
यस मेलालाई धामी–झाँक्री मेला पनि भनिन्छ, जहाँ नयाँ धामी–झाँक्री बन्ने र तन्त्र–मन्त्रमा सिद्धि प्राप्त गर्ने विश्वास रहेको छ। स्नानपछि भक्तजनहरू कमलाको पवित्र पानी बोकेर घर फर्कन्छन्, जुन पानीलाई घरको शुद्धिकरणका लागि प्रयोग गरिन्छ।
सर्वसाधारणमा पनि आज कमला नदीमा स्नान गर्दा पापबाट मुक्ति पाइने र दुःख–क्लेश हट्ने विश्वास रहेको छ।