Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २९ गते ।

नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपालको नेतृत्व गर्दै इतिहास बनाउन पाउँदा गर्व महसुस भएको बताएकी छन्। यू–१९ महिला टी२० विश्वकपमा पहिलो पटक छनोट भएर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो सफलताले महिला क्रिकेटमा नयाँ अध्याय थपिएको बताइन्।

पूजाले नेपाली टोलीलाई विश्वकपमा स्थान बनाउन पाउँदा अत्यन्तै खुसी लागेको र कप्तानको जिम्मेवारी पाएकोमा नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “महिला क्रिकेटको इतिहासमा पहिलो पटक विश्वकपमा स्थान बनाउनु हाम्रो लागि ठूलो खुसीको कुरा हो। अब हामी एसिया कप र विश्वकपमा अझ बलियो भएर प्रस्तुत हुने छौं।”

नेपालले दुबईमा आयोजित आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा च्याम्पियन बनेर पहिलो पटक यू–१९ महिला टी२० विश्वकपमा स्थान बनाएको हो। आगामी वर्ष जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा नेपाल सहभागी हुनेछ। साथै, त्यसअघि डिसेम्बरमा एसीसी यू–१९ महिला एसिया कपमा पनि नेपालको सहभागिता रहनेछ।

बिहीबार साँझ त्रिभुवन विमानस्थलमा नेपाली महिला टोलीलाई स्वागत गर्न राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, अन्य क्यान पदाधिकारी, र क्रिकेटप्रेमीहरू बाजागाजासहित पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *