सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २८ गते ।
नेपाली महिला क्रिकेट टिमले पहिलो पटक विश्वकपमा स्थान बनाउन सफलता पाएको छ। बुधबार सम्पन्न छनोट खेलमा नेपालले घरेलु टिम यूएईलाई ८ विकेटले पराजित गर्दै आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यू–१९ टी–२० महिला विश्वकपमा आफ्नो सहभागिता सुनिश्चित गरेको हो।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। कप्तान पूजा महतोले पनि महत्वपूर्ण योगदान दिँदै १८ बलमा २१ रन बनाइन् भने साबित्री धामीले १२ रन थपिन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्, रिनिथा रञ्जितले २० रन बनाइन्, भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।
नेपालका बलरहरूमध्ये कृष्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन दिएर ४ विकेट हात पारिन्, जसमा उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गरिन्। त्यस्तै, रिया शर्मा र सीमा केसीले २–२ विकेट लिए भने रचना कुमारी चौधरीले १ विकेट लिइन्।