सामाजिक फीड-
जनकपुरधाम, कात्तिक २६गते ।
धनुषाका संस्थागत विद्यालयहरूको संगठन हिसान, प्याब्सन, र एनप्याब्सनले छात्रवृत्ति सम्बन्धी जनकपुरधाम उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी संगठनहरूले छात्रवृत्तिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शुल्कको विषयमा उपमहानगरपालिकाले गरेको निर्णय मान्य नहुने बताएका हुन् ।
हिसान धनुषाका अध्यक्ष संजीवकुमार झाले शैक्षिक सत्र ०८१/०८२ को सुरुमा उपमहानगरसँग “शिक्षा ऐन २०७४“ अनुसार नामाङ्कन शुल्क, मासिक शुल्क, र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सकिने सहमति भएको जानकारी दिए। उनले हाल ने.वि. संघ धनुषाको दबाबमा “छात्रवृत्ति वितरण कार्यविधि २०७४“ अनुसार मात्र रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क लिनुपर्ने निर्णयले विद्यालयहरूको अध्यापन कार्यमा समस्या उत्पन्न गरेको बताए ।
मोडेल क्याम्पसका संचालक विरेन्द्र साहले पनि चालु शैक्षिक सत्रका लागि भदौ १३, २०८१ को निर्णयअनुसार नै शुल्क लिन पाउनुपर्नेमा जोड दिए । उनले उपमहानगरको पछिल्लो निर्णयलाई अध्ययन गरी सत्र २०८२/२०८३ देखि मात्र लागू गर्नुपर्ने माग गरे ।
तीनैवटा संगठनले उपमहानगरपालिकाले निर्णय नसच्याए सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।