Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक २६ गते ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तलब भत्ताको माग गर्दै शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। चालू आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि हालसम्म तलब भत्ता नपाएको भन्दै आइतबार उनीहरूले नगरपालिकाको मुख्य गेटमा ताला लगाएका हुन्। साथै, कार्यालय अगाडि धर्ना पनि दिएका छन्।

तालाबन्दीका संयोजक अशोक कुमार यादवले मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतसँग पटक–पटक मौखिक र लिखित आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको जानकारी दिए। दशैँ, तिहार, र छठ जस्ता मुख्य पर्वहरूमा पनि तलब भत्ता नपाउँदा शिक्षक र कर्मचारीहरू आर्थिक समस्यामा परेका छन्।

शिक्षकहरूले गत कात्तिक ६ गते तलब भत्ताको मागसहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए। तर, ध्यान नदिएपछि कात्तिक ११ गतेदेखि विद्यालय बन्द गरी धर्ना सुरु गरेका थिए। धर्ना पनि बेवास्ता भएपछि उनीहरू तालाबन्दी गर्न बाध्य भएका हुन्।

नगरपालिकामा चालू आर्थिक वर्षको नगरसभा हुन नसक्दा आर्थिक कारोबार समेत ठप्प भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *