Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक २१ गते ।

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आदिदेव सूर्यको उपासना गरेर विशेष नियम र श्रद्धाका साथ मनाइने यस पर्वमा, आज साँझ चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरेर खरना मनाइन्छ।

दिनभर उपवास बसेका छठ ब्रतालुले साँझ खीर बनाएर विशेष विधिपूर्वक प्रसादको रूपमा ग्रहण गर्छन्। यस अवसरमा घरका सदस्यहरूले पनि खीर प्रसाद ग्रहण गर्ने र छिमेकी वा पर्व नमनाउनेलाई वितरण गर्ने चलन छ।

चार दिनसम्म मनाइने छठ पर्व, सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै मनाइन्छ।
हिजो मंगलबार नहाय खाय विधिबाट सुरु भएको यस महापर्वमा पहिलो दिन ब्रतालुले स्नान गरी चोखो भोजन ग्रहण गर्छन्।

भोलि बिहीबार, छठ पर्वको मुख्य दिन रहेको छ । श्रद्धालुहरू जलाशय घाटमा पूजा सामग्री लिएर गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यस दिनलाई सौझकारक भनिन्छ।

शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ।

छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया, हाँथी आदि सामग्री चढाइन्छ। साथै, प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा र अन्य विविध मिठाई तथा फलफूल सूर्य देवतालाई अर्पण गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *