Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।

जनकपुरधाम, कात्तिक २० गते – सूर्यदेवको उपासना गरी अत्यन्त श्रद्धा र निष्ठासाथ मनाइने छठ महापर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई “नहाय–खाय“ भनिन्छ । आजको दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्छन् ।

पारिवारिक सुख–समृद्धिको कामना गर्दै मनाइने छठको दोस्रो दिन भोलि (बुधबार) “खरना“ रहेको छ । खरनामा ब्रतालुहरूले चामल, सक्खर, र दूध मिसाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गर्नेछन् । तेस्रो दिन (बिहीबार) पर्वको मुख्य दिन रहेको छ । सो दिन अस्ताउँदो सूर्यलाई छठ घाटमा अर्घ्य अर्पण गरिन्छ । चौथो दिन (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ।

छठमा बाँसको ढाकी, डगरी, माटाका कोसिया, हाती लगायतका परम्परागत सामग्री अर्पण गरिन्छ । साथै, प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, र विभिन्न प्रकारका मिठाई तथा फलफूल सूर्यदेवलाई चढाइन्छ । ब्रतालुहरूले ४८ घण्टासम्म पानीसमेत नखाई उपवास बस्ने भएकाले यो पर्वलाई कठोर निष्ठा र अनुशासनको पर्व मानिन्छ।

तराई–मधेशका बासिन्दाहरू पूर्ण रूपमा छठ पर्वको तयारीमा जुटेका छन्। पूजा सामग्री किन्न बजारहरूमा भीड देखिएको छ। जनकपुरका गंगासागर, धनुसागर, अंगराजसागर, दशरथ ताल लगायतका ऐतिहासिक पोखरीहरूलाई नववधूझैं सजाउने कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *