सामाजिक फीड–
जनकपुरधाम, कात्तिक १८ गते ।
२५ वर्षदेखि बेपत्ता रहेका धनुषा, बटेश्वर गाउँपालिका-१ लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो गाउँ फर्किएका छन्। युवा अवस्थामा मजदुरी गर्न भारतको पञ्जाब गएका उनी वृद्ध अवस्थामा घर फर्किएका हुन्।
वर्षौंसम्म घर नफर्किएकाले उनको मृत्यु भइसकेको अनुमान परिवार र गाउँलेहरूले गरेका थिए। तर, २५ वर्षपछि अचानक गाउँ आइपुग्दा सबै अचम्मित र हर्षित भए।
महतोले पञ्जाबमा एक साहुले आफूलाई बन्धक बनाएर श्रम गराएको खुलासा गरे। उनले भने, “साहुले मलाई काम गर्न बाध्य पार्यो र बाहिर जाने कुरा गर्दा काटेर फालिदिन्छु भन्थ्यो। त्यस डरले बाहिर निस्कन सकिनँ। मलाई गाईवस्तु हेर्ने काममा लगाएको थियो।”
महतोका अनुसार भारत, बिहारको सितामढीका मंगल महतोसँग चिनजान भएपछि आफू बन्धकबाट मुक्त भएका थिए। मंगल महतोले पहल गरेपछि परपञ्चायत बस्न पुग्यो र साहुले उनलाई घर फर्किन सहमति दिएको थियो।
महतोले आफूलाई कुनै पारिश्रमिक नदिइ श्रम गराएको गुनासो गरे। यद्यपि, बन्धनबाट मुक्त भएर गाउँ फर्कन पाउँदा उनी निकै खुसी छन्।
महतोको अनुपस्थितिले अस्तव्यस्त बनेको उनको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौलीमा सरेको थियो। उनका छोरा प्रविण महतोले त्यहाँ खाजा पसल चलाएर परिवारको गुजारा गरिरहेका छन्। तर, चलितर महतोको अनुपस्थितिका कारण परिवार नागरिकता र जन्मदर्ता बिहीन थियो।
चलितर महतो गाउँ फर्किएपछि खुसी भएका उनका परिवार साविकको गाउँ सोनापुर जान तयारी गर्दै छन्।