सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८ गते ।
यमपञ्चकको पाँचौं दिन आज भाइटीका दाजुभाइलाई दिदीबहिनीले सप्तरंगी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार, नेपालीहरूको दोस्रो ठूलो चाड, आज दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएर मुख्य दिनका रूपमा मनाइन्छ।
टीकाको लागि शुभ साइत बिहान ११ बजेर ३७ मिनेट तोकिएको छ।
टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन रहेको छ। शास्त्रीय मान्यताअनुसार, दिदीबहिनीलाई पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ। यसबारे धर्मशास्त्रविद् तथा नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
मिथिलाञ्चलमा भरदुतिया पर्व मनइँदै
यस्तै मिथिलाञ्चलमा आज भाइटीका जस्तै भाइ–बहिनीको स्नेह रप्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ। यो पर्वमा बहिनीहरुले भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन् ।
दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन् । त्यसपछि दाजुभाइको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ । मन्त्रमार्फत दिदीबहिनीले दाज्भाईको दीर्घायुको कामना गर्छन् ।
पूजा सकिएपछि दाजुभाइलाई मिठाईलगायत परिकार खुवाउने चलन छ । तिहारको भाइटिका र यो पर्वको मान्यता एउटै भए पनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ ।