Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ –

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली चौरीमा एक महिलाको अनुहार जलेको अवस्थामा शव फेला परेको छ। स्थानीय अशोक ठाकुरको आँप बगैंचामा करिब २५-३० वर्ष उमेरकी महिलाको शव फेला परेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गहुँगोरो वर्णकी ती महिलाले हल्का पहेँलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमा सल राखेर जलाइएको अवस्थामा शव फेला परेको हो । अनुहारको केही भाग जलेको डिएसपी जयसवारले जानकारी दिए। घटनास्थलको प्रकृति हेर्दा यो हत्या भएको सम्भावना रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनास्थलमा महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, र प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकले पाँच घण्टा लामो अनुसन्धान गरेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेरमा राखेको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जयसवारले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *