Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ५ गते ।

सिरहामा आपसी विवादका कारण आफ्नै साथीको हत्या गर्ने पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–१३ डंगराहा टोलका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम, र २० वर्षीय मोहमद जमसेद पक्राउ परेका हुन् । उनीहरूलाई आफ्नै गाउँका साथी कृष्ण कुमार महराको हत्या गरेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१० शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए। त्यहाँ उनीहरूका अन्य साथीहरू भेट भए, जसपछि सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाए। मेला स्थलबाट पूर्वतिरको खोलानजिक गएर उनीहरूले गाँजा र नाईट्राभेट ट्याबलेट सेवन गरे। सो क्रममा, कृष्णले आफूले चिनेकी एक महिला साथीलाई भेट्न बोलाए, तर अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गर्दा कृष्णले अस्वीकार गरे। यसले उनीहरूबीच विवाद बढ्यो, र रिसको आवेगमा हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अभियुक्तहरू मोहमद जमसेद, धिरज कुमार राम, धर्मेन्द्र महरा, सन्तोष कुमार महरा, रोहित कुमार महरा, र अरविन कुमार महराले मिलेर कृष्णलाई चारैतिरबाट घेरेर धारिलो कैँचीले घाटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए। अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए। असोज २८ गते कृष्णको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै आफ्नै साथीद्वारा हत्या भएको पुष्टि गरेको हो।

प्रहरीले अनुसन्धानको क्रममा घरमै लुकेर बसेका अभियुक्तहरूलाई पक्राउ गरेको छ। अदालतले म्याद थप गर्दै ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *