सामाजिक फीड-
जनकपुरधाम, असोज २१ –
आज बडादशैंको पाँचौं दिनमा हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गरिरहेका छन्। देवी स्कन्दमाता भगवान कार्तिकेयको ममतामयी स्वरूपलाई प्रतिनिधित्व गर्छिन्। कार्तिकेयलाई काखमा राखी स्नेह प्रदान गर्ने भएकाले नवरात्रको पाँचौं दिन उनलाई स्कन्दमाताको नामले पुकारिन्छ।
भगवान कार्तिकेयलाई स्कन्द पनि भनिन्छ, जो ज्ञान र कर्मशक्तिको प्रतीक मानिन्छन्। यिनलाई देवी स्वरूपमा पूजा गर्दा स्कन्दमाताको उपासना गरिन्छ। चार हात भएको यो देवी दायाँतर्फको माथिल्लो हातले बालक कार्तिकेयलाई काखमा राख्दै, बायाँतर्फको तल्लो हातमा कमलको फूल समातेर सिंहमा सवार रहेको रूपमा पूजिन्छिन्। यिनको वर्ण सूर्यको जस्तो देदीप्यमान रहेको विश्वास गरिन्छ।
दशैंका विभिन्न दिनमा हिन्दूहरूले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्छन्। यी नौ देवीलाई नवदुर्गाको नामले पनि चिनिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भिड देखिन्छ। विशेषगरी काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, र भद्रकाली मन्दिरहरू विशेष रूपमा सजाइएका छन्, जहाँ दीपावली गरी मन्दिरहरू झिलीमिली बनाइएका छन्।
स्कन्दमाताको पूजा गर्दा पहिले काठको चौकोशमा प्रतिमा स्थापना गरिन्छ। त्यसपछि गंगाजल वा गोमूत्रद्वारा चौकोश शुद्धीकरण गरी कलश स्थापना गरिन्छ। यसमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका, र सप्त घृत मातृकाको स्थापना गरिन्छ।
व्रत लिई वैदिक मन्त्रद्वारा स्कन्दमातासहित अन्य देवीदेवताहरूको षोडशोपचार विधिबाट पूजा गरिन्छ। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गरिन्छ।