सामाजिक फीड-
जनकपुरधाम, असोज १९ गते ।
बडादशैंको तेस्रो दिन, नवरात्रको अवसरमा आज नौ दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देवी चन्द्रघण्टाले चन्द्रमाको आधार भएको घण्ट धारण गर्ने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
देवीको पूजाले शक्ति प्राप्त हुने विश्वासका साथ नवरात्रमा विशेष आराधना गरिन्छ। नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाका अनुसार, मार्कण्डेय पुराणमा देवीको वर्णन “चन्द्रः घण्टायां यस्याः सा चन्द्रघण्टा” भनी गरिएको छ। चन्द्रमा जसको घण्टामा रहेको छ, ती देवी चन्द्रघण्टा हुन् भन्ने पौराणिक कथा छ।
चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ र यिनले अत्याचारी दानवहरूको विनाश गर्ने विश्वास छ । मणिपुर चक्रलाई ध्यान गरेर पूजा गर्दा विशेष शक्ति प्राप्त हुने धार्मिक मान्यता छ। देवीको कृपाले सबै पापहरूको नाश हुने विभिन्न पुराणहरूमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताएका छन्। देवीको स्वरुप शान्त, करुणामयी र सामान्य रहेको छ, जसले गर्दा गीत–सङ्गीतका साधकहरूले यिनको विशेष पूजा आराधना गर्छन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरी देवीको साधना थालिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरियो भने तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा हुँदैछ। नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ, जसले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ। वैदिक सनातन धर्मावलम्बीहरूले नवदुर्गाको पूजा गरेर नवमीसम्म देवीको विशेष आराधना गर्छन्।
यसै अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको भिड लागेको छ ।