Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, असोज १० गते ।

सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा आज बिहान गोली प्रहार गरी एक महिलाको हत्या भएको छ भने उनका ससुरा गम्भीर घाइते भएका छन् । स्थानीय २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्। घाइते ५४ वर्षीय रामदिनेश राय मृतकका ससुरा हुन् । बायाँ हातमा गोली लागेको उनको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिको पहिचान गोप्य राखेको छ। घटनामा संलग्न अपराधीहरूको खोजीका लागि सीमा क्षेत्रमा समेत व्यापक प्रहरी परिचालन गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, दुई व्यक्तिहरू मोटरसाइकलमा आएका थिए र गोली प्रहार गरी फरार भएका छन्। डिएसपी श्रेष्ठले संलग्न व्यक्तिको पहिचान भइसके पनि उनीहरू पक्राउ नगरिएकाले नाम सार्वजनिक नगरेको बताएका छन्।

चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट फर्केका थिए। घर फर्किएपछि परिवारसँग पटक–पटक विवाद भइरहने गरेको बताइएको छ। घटना भएको राति मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। चित्रलेखाका श्रीमान् नै घटनामा संलग्न छन् वा अरू कसैलाई गोली चलाउन लगाएका हुन् भन्नेमा प्रहरी अझै अन्योलमा रहेको छ। तर, प्रहरी चौकी हरिपूर्वाले भने चित्रलेखाका श्रीमान्ले नै श्रीमती र ससुरालाई गोली हानेर फरार भएको जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट सानो हतियारका दुई राउण्ड खोका र एक राउण्ड मिसफायर भएको गोली बरामद भएको छ। गोली प्रहारपछि फरार भएका व्यक्तिहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *