टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते।
धनुषामा विद्यालयबाट घर फर्किंदै गरेकी एक ७ वर्षीया बालिकाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ। मृतक बालिका क्षिरेश्वरनाथ नगरपालिका-७, महादेवमण्ठ टोलकी रिता यादवकी छोरी रचना यादव हुन्।
आज बिहान करिब ९:३० बजे दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयमा परीक्षा सकेर घर जाँदै गर्दा, नम्बर नखुलेको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल चालक भने घटनापछि फरार भएका छन्।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले फरार मोटरसाइकल चालकको खोजी भइरहेको बताएका छन्। बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरमा राखिएको छ।