सामाजिक फीड
जनकपुरधाम, भदौ १४ गते ।
सप्तरीमा गोली हानेर मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डिआइजी र अन्य नौ जनालाई जमानीमा छाडिएको छ ।
सप्तरी प्रहरीले को २ त ६९ नम्बरको ट्याक्टर र त्यसमा राखिएको मृत बँदेल बेवारिसे अवस्थामा भेटेको मुचुल्का बनाएर सवडिभिजन वन कार्यालय कञ्चनपुर पठाएको हो । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख शुभाष यादवले बताए अनुसार, प्रहरीको ट्याक्टर र बँदेल बेवारिसे फेला परेको मुचुल्कासहित सब डिभिजनमा बुझाइएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी पलार क्षेत्रबाट अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रको नेतृत्वमा बुधबार राति १० जनालाई पक्राउ गरिएको थियो ।
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरीले बिहीवार राति उनीहरुलाई जमानीमा छोडेको हो ।
पक्राउ परेकाहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी नेपाल प्रहरीका पूर्व डिआइजी ज्ञानविक्रम शाह, विराटनगर–३ निवासी बहालवाला सई सञ्जय न्यौपाने, हनुमाननगर कंकालिनी–८ निवासी आकाश बहरखेर यादव, तिरहुत–२ निवासी लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी–२ निवासी जनार्दन राउत, इटहरी–२ निवासी प्रदीप लिम्बु, राजविराज–७ निवासी रविन दास, हनुमाननगर कंकालिनी–५ निवासी ओमशंकर प्रसैला, वडा–१ निवासी लक्ष्मण मण्डल, र वडा–३ निवासी शंकर खिडहरी यादव रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट २२ क्यालीबरको राइफल, म्यागजिन, १५ राउण्ड गोली, तीन वाइनाकुलर, ट्राइपोर्ट, फलामको हथौडा, र खुर्पा बरामद गरेको थियो। राइफल र गोली अनुमति प्राप्त छन् वा छैनन् भन्ने कुरा अझै स्पष्ट भएको छैन । सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यका अनुसार, पूर्व डिआइजी शाहको नाममा रहेको राइफलको अनुमति पत्रको फोटोकपी पेश भए पनि यसको प्रयोगबारे अनुसन्धान भइरहेको छ ।