Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, भदौ १२ गते

साउदी अरेबियामा हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी रामआशिष यादव घर फर्किएका छन् । ब्लडमणि तिरेपछि फाँसीबाट जोगिएका यादव सोमबार रुपन्देहीमा आफ्नो जीवन बचाउन पहल गर्नेहरूसँग भेटघाट गरेका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका–४ निवासी दुर्गाप्रसाद शर्माको हत्या अभियोगमा यादवलाई ६ वर्ष साउदी जेलमा बिताउनुपरेको थियो। साउदी अदालतले उनलाई फाँसीको सजाय सुनाइसकेको थियो । तर, पीडित परिवारलाई ४६ लाख रुपैयाँ ब्लडमणि बुझाएपछि उनको मृत्युदण्डको सजाय माफी भयो ।

नेपाल फर्किएपछि यादवले ब्लडमणि स्वीकार गर्ने दुर्गाप्रसाद शर्माको परिवार, ब्लडमणि जुटाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, र अन्य सहयोगीहरूसँग भेट गर्न रुपन्देही पुगे । उनले आफ्नो जीवन बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

यादवले साउदीमा शर्मा र आफूबीच भएको विवाद, त्यसपछि घटेको दुर्घटना, र त्यसपछिको पछुतो तथा जेलमा बिताएका ६ वर्षका कठिन समयबारे चर्चा गरे । सन् २०१२ मा साउदी अरब गएका यादवको श्रीमती र तीन छोरी छन्, जसको जीविका चलाउन उनले संघर्ष गरिरहेका थिए ।

यादवको जीवन बचाउन प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वमा ५० लाख रुपैयाँको ब्लडमणि जुटाउन विभिन्न व्यक्तिहरूको सहयोग महत्वपूर्ण रह्यो । अन्ततः ४६ लाख रुपैयाँ ब्लडमणि तिरेपछि यादवको जीवन जोगाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *