सामाजिक फीड-
जनकपुरधाम, साउन २७ गते ।
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयलाई विवाद उत्पन्न भएको छ । विवाद धक्कामुक्कीमै परिणत भएपछि समाधान गर्न प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादव आफैं प्रयोगशालामा पुग्न बाध्य भए।
विवादको सुरुवात बिहान सवा १० बजे भयो जब निमित्त निर्देशक मृत्युञ्जय प्रसाद यादव केही सहयोगीसहित कार्यालयमा प्रवेश गर्न खोज्दै थिए। तर, काज सरुवा भइसकेका निवर्तमान निर्देशक डा. श्रवण मिश्रले उनीहरुलाई रोक्ने प्रयास गरे, जसले गर्दा दुवै पक्षबीच वादविवाद र धक्कामुक्की भयो। मिश्रले कार्यालयको मुख्य ढोकामा ताल्चा लगाएर यादवलाई कार्यकक्ष प्रवेश गर्न अवरोध गरेका थिए।
मिश्रले कार्यालय बाहिरबाट गुण्डा बोलाएर कार्यालयमा अशान्ति उत्पन्न गरेको आरोप लगाए। उनले भने, “सेवा प्रभावित हुने देखेर मैले मुख्य ढोकामा ताल्चा लगाएको हुँ।”
यस घटनापछि निमित्त निर्देशक यादवले आफूलाई कार्यकक्ष प्रवेश गर्ने प्रयासमा मिश्र पक्षका कर्मचारीले दुव्र्यबहार गरेको आरोप लगाए। यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २५ साउनमा निमित्त निर्देशकको जिम्मेवारी तोकेको थियो भने मिश्रलाई २० साउनमा पदबाट हटाएको थियो।
मिश्रले आफूलाई सरुवा भएको पत्र समयमै प्राप्त नभएको र २४ घण्टाभित्र कार्यालय हस्तान्तरण गर्नुपर्ने निर्देशन थाहा पाउँदा मात्रै आफ्नो सरुवाको जानकारी भएको दावी गरे। उनले भने, “म जान तयार थिएँ। तर कार्यालयका कर्मचारीहरुले २० दिनको समय छ भनेपछि अलि पर्खेको हुँ।”
घटनाको समाधानका लागि मन्त्री र सचिवले झन्डै तीन घण्टा प्रयोगशालामा बिताए। अन्ततः निमित्त निर्देशक यादवले कार्यालय हाजिर गरे र सबै कागजी प्रक्रिया पनि पूरा गरे ।
प्रयोगशालामा दैनिक ३ सयदेखि ४ सय बिरामीको स्वास्थ्य परीक्षण हुने गर्दछ। यस घटनापछि निवर्तमान निर्देशक मिश्रमाथि केही कर्मचारीहरुले चार वर्षदेखि कार्यालयमा मनपरी गरेका र भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन्।