सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २३ गते
टी-२० विश्वकपको शुरुवात नेपालका लागि निराशाजनक रह्यो, जसमा मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको पराजय भोग्नु पर्यो।
नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रनको योगदान दिए। नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, र अविनाश बोहोराले समान एक-एक विकेट लिएका थिए।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन मात्र बनाउन सफल भयो। कप्तान रोहित पौडेलले ३५ रन बनाउँदै सबैभन्दा ठूलो योगदान दिए भने गुलशन झाले १४ र कारण केसीले १७ रन जोडे। कुशल भुर्तेल ७, आसिफ सेख ४, अनिल शाह ११, कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरी १ र सोमपाल कामी शुन्यमा आउट भए।
नेदरल्याण्ड्सका बलर लोगान भान बीक र टिम प्रिंगलले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट हात पारे।
यो जितसँगै नेदरल्याण्ड्सले समूह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ। अब नेपालले आगामी खेल जुन १२ मा श्रीलंकाविरुद्ध खेल्नेछ भने नेदरल्याण्ड्सले जुन ८ मा दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।