Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप-२०२४ को पहिलो खेललाई लिएर उच्च उत्साह प्रकट गरेका छन्। आज राति साढे ९ बजे नेपालले नेदरल्याण्ड्ससँग खेल्दै विश्वकप-२०२४ को यात्रा सुरु गर्नेछ।

प्रिम्याच कन्फ्रेन्समा कप्तान पौडेलले भने, “हामी सबैजना यो खेलको लागि निकै उत्साहित छौं। यो प्रतियोगिता हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। विगत १० वर्षदेखि हामीले विश्वकप खेल्न पाएका थिएनौं, तर अब १० वर्षपछि हामीले यो अवसर प्राप्त गरेका छौं। नेपाल क्रिकेटको लागि यो एक सपना थियो, र हामीले अहिले त्यो सपना साकार पार्ने मौका पाएका छौं।”

कप्तान पौडेलले टिमको तयारीबारे भने, “नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका छौं। यसले हामीलाई थोरै परिचित बनाउँछ, तर जसले प्रेसरलाई राम्ररी ह्यान्डिल गर्न सक्छ, उसैले जित हासिल गर्छ। हामी हाम्रो उत्कृष्ट प्रदर्शन गर्नेछौं। टुर्नामेन्टको पहिलो खेल जित्नाले आत्मविश्वासमा ठुलो वृद्धि गर्छ।”

उनले थपे, “प्रथम खेलको महत्व अपरम्पार छ। यसले टिमको आत्मविश्वासलाई मजबुत बनाउँछ र आगामी खेलहरुमा राम्रो प्रदर्शनको आधार तयार गर्छ। हामी जितका लागि खेल्नेछौं र हाम्रो सम्पूर्ण प्रयास दिनेछौं।”

यसरी नेपाली टिमले टी-२० विश्वकप-२०२४ को पहिलो खेलमा जित हासिल गर्न अठोटका साथ मैदानमा उत्रन लागेको छ। कप्तान पौडेलको नेतृत्वमा टिमले उत्कृष्ट प्रदर्शनको आशा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *