Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

नेपालले मंगलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध आफ्नो पहिलो खेल खेल्दैछ। यो खेल नेपाली समय अनुसार राति ९:१५ बजे हुनेछ। २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको नेपाल लय समात्न चाहन्छ।

कप्तान रोहितकुमार पौडेलले बाल्यकालमा देखेको सपना पूरा हुँदैछ। रोहितले भने, “विश्वकप खेल्ने हाम्रो सपना थियो, अब त्यो पूरा हुँदैछ। हामी उत्साहित मात्र होइन, जिम्मेवारी पनि छ।”

नेपालले वार्म-अप खेलमा क्यानडासँग पराजय भोगे पनि, कप्तान रोहितले टोली पूर्ण फिट रहेको र नेदरल्यान्ड्सविरूद्ध तयार रहेको बताए। पहिलो खेलमा जित हासिल गरेर आत्मविश्वास बढाउने लक्ष्यमा नेपाल छ।

नेदरल्यान्ड्स पछिल्लो एकदिवसीय विश्वकप खेलेको एक्लो एसोसिएट टोली हो। टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्यान्ड्स १५औं स्थानमा। नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म १२ टी-२० खेल भएका छन्, जसमा नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले ५ खेल जितेको छ।

नेपालको आगामी खेल तालिका:

  • ११ जुन: श्रीलंका विरूद्ध, फ्लोरिडा
  • १४ जुन: दक्षिण अफ्रिका विरूद्ध, सेन्ट भिन्सेन्ट
  • १६ जुन: बंगलादेश विरूद्ध, सेन्ट भिन्सेन्ट

कप्तान रोहितले उत्कृष्ट प्रदर्शन गरेर समर्थकहरूलाई खुसी बनाउने आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *