२१ कार्तिक, जनकपुरधाम। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सुरक्षित, शान्तिपूर्ण र विश्वसनीय रुपमा सम्पन्न गर्न निर्वाचन आयोग तयार रहेको बताउनुभएको छ । आगामी मङ्सिर २० गते एकै चरणमा दोहोरो निर्वाचनका लागि मतदान हुँदैछ ।आज निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको शुभारम्भ गर्दै उहाँले मतदान र मतगणनालाई पूर्णरूपमा सुरक्षित गर्ने उद्देश्यले आयोग पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो ।

निर्वाचन परिणामलाई पूर्ण रूपमा विश्वसनीय बनाउन उनका अनुसार नयाँ तोकिएका मतदान केन्द्रहरूले मतदान केन्द्रसँग प्रत्यक्ष र नियमित सम्पर्क राख्ने, कर्मचारीहरूले काम गर्ने केन्द्रमा पुग्छन् वा छैनन् भन्ने अद्यावधिक लिने र स्थानीय तहमा मतदाता शिक्षाको अवस्थाबारे जानकारी लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी निर्वाचन आचारसंहिता कार्यान्वयनमा सहजीकरण गर्ने, जिल्लामा आधारित निर्वाचन कमाण्ड सेलसँग सहकार्य गर्ने र मतदानलाई सुरक्षित ढंगले सञ्चालन गर्ने र मतदानपछि मतपेटिका ढुवानीमा सहकार्य र समन्वय गर्ने अधिकारसमेत रहेको उनले बताए । निर्वाचनका क्रममा स्रोतसाधनको व्यवस्थापन, सुरक्षा व्यवस्था र पर्यवेक्षणका क्रममा आवश्यक पर्ने कुनै पनि आवश्यकतालाई तत्काल सम्बोधन गर्न गठन गरिएको हो ।
आयोगका सचिवको नेतृत्वमा रहेको केन्द्रमा गृह मन्त्रालयका सहसचिव र राजपत्रित प्रथम श्रेणीका कर्मचारी रहेका छन् । निर्वाचन सुरक्षा तथा अनुगमन निर्देशिका अनुसार चारवटा सुरक्षा निकाय गठन भएका छन् ।