सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते
अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन्। उनलाई मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै एक वृद्धालाई रक्सीको नशामा कुटपिट गरेको आरोप लागेको छ।
घटनाका अनुसार, रविनाको कारले एक वृद्धालाई सामान्य ठक्कर दिएपछि विवाद सुरु भएको थियो। रविनाका चालक र महिलाका परिवारका सदस्यहरूबीच झगडा सुरु भएपछि रविना पनि कारबाट ओर्लेर उनीहरूसँग झगडा गर्न थालिन्। भारतीय मिडियाका रिपोर्टहरूमा उल्लेख गरिए अनुसार, भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिन्छ।
सार्वजनिक भएको भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको देख्न सकिन्छ। घटनास्थलमा रहेका मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका थिए। पीडित परिवारले उजुरी दर्ता गर्न खोज्दा पनि प्रहरीले कडा कारबाही नगरेको आरोप लगाएको छ। कुटपिट खाएकी वृद्धाको उमेर ७० वर्ष रहेको बताइएको छ। पीडित परिवारका अनुसार, रविना नशामा थिइन्।
घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए। पीडित परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए। उनले पीडित परिवारसँग समस्या समाधान गर्न प्रयास गरे पनि पीडित परिवारले मुद्दा दर्ता नगरी मान्न तयार नभएको बताइएको छ।
पीडित परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खेर पनि उजुरी दर्ता नभएको दाबी गरेका छन्। यद्यपि, प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको र थप कारबाही अघि बढाइरहेको जनाएको छ।