Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

जनकपुरधाम, १५ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मंगलबार दिउँसो उनलाई हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको हो । स्वास्थ्य समस्या देखिएपछि जनकपुरधाम काव्या अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि काठमाडौँमा पठाउन रिफर गरिएको हो ।

उनलाई सिधै मेडिसिटी अस्पतालमा पुर्‍याएर भर्ना गरिने उनका कानुन व्यवसायी किशोर पौडेलले जानकारी दिए । धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो ।

सिरोहिया बिरामी भएको र काव्या अस्पतालको रिपोर्टअनुसार उनको स्वास्थ्य अवस्थाका कारण अनुसन्धानमा शीघ्रता अपनाउन भनिएको थियो । उनलाई उपयुक्त स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गर्न पनि अदालतले आदेश दिएको थियो । ‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’ आदेशमा भनिएको छ।

सिरोहियामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद माग भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सोमबार अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँ लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ। उक्त विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष माग गरेको थियो।

ती आधार कारणहरूलाई हेरेर इजलासले सिरोहियालाई सोमबारदेखि बुधबारसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो। उनलाई त्यही साँझ पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *