Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,
अर्घाखाँची, १५ जेठ । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा ३० वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको छ।

पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीका अम्मरबहादुर राना मगरले वैशाख ३१ गते नाबालिकासँग विवाह गरेको खुलेको छ।

अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतितसिंह राठोरका अनुसार ११ वर्ष सात महिना उमेरकी बालिका स्थानीय एक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन्।

बालिका मामाघरमा बस्दै आएकी थिइन्। उनलाई मामा घरबाटै अम्बरबहादुरले फकाइ विवाह गरेको भन्ने खुलेको राठोरले बताए।

‘३० वर्षे व्यक्तिले १२ वर्ष पनि नपुगेकी नाबालिकालाई ललाइफकाइ भगाइ लगेर बिहे गरेको भन्ने गोप्य सूचनाका आधारमा हामीले रानालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं,’ राठोरले भने, ‘आइतबार हामीले आरोपितलाई पक्राउपछि अदालत पेस गरी पाँच दिनको म्याद थप भइसकेको छ।’

रानाले विवाहपछि बालिकालाई आफ्नै घरमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी सिंहले बताए।

अम्बरबहादुरले भने आफूसँग ती नाबालिकाको प्रेम सम्बन्ध रहेको दाबी गर्दै आएको एक प्रहरी अधिकारीले बताए।

रोजगारीको लागि भारत आउजाउ गरिरहने उनले भगाएर लगेपछि ती नाबालिकालाई विवाह गरेका थिए।

प्रहरीले ती नाबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। बालिका विद्यालय पढ्न पनि जान पनि छोडेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *