Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, ६ जेठ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक नाबालकसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरिएको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए । उनीहरूलाई अस्ट नारायण हल पछाडि २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो ।

कसरी भयो घिमिरेको हत्या?

एसएसपी बसन्त रजौरेका अनुसार प्रारम्भिक अनुसन्धानमा त्यस दिन घिमिरे ड्युटी सकेर आफ्ना सहकर्मीहरूसँग छुट्टिएको पाइएको छ। त्यसपछि घिमिरे घर जानुअघि खाजा-नास्ता खान तारकेश्वर नगरपालिका-११ स्थित एक खाजा घरमा पुगेको सिसिटिभी फुटेजसमेतले देखाएको छ। घिमिरे खाजा खाइरहेको बेलामा सचिन परियार र अन्जली श्रेष्ठ त्यहाँ पुगेका थिए।

घिमिरे र सचिनको पुरानो चिनजान थियो। अन्जलीसमेत मिसिएपछि तीन जना एउटै टेबलमा बसेर खाजा खाए। ‘खाजा खाइसकेपछि सचिनले आफूले आश्रय लिइरहेको घर (घटनास्थलसम्म) मोटरसाइकलमा पुर्‍याइदिन आग्रह गरे,’ रजौरेले भने, ‘घिमिरेले दुबै जनालाई मोटरसाइकलमा राखेर पुर्‍याइदिए।’

त्यहाँ पुगेपछि सचिनले अन्जलीलाई बिसन्चो भएको भन्दै माथिसम्म जान नसक्ने बताए। अन्जलीलाई बोकेर लैजान युवराजको सहयोग मागे। युवराजले सहयोग गरिदिए। सचिन र अन्जलीले आश्रय लिइरहेको घरको पहिलो तलामा पुगेपछि सचिनले अचानक घिमिरेको हेल्मेट खोसे। हेल्मेटले उनको टाउकोमा प्रहार गरे।

लगत्तै घटनास्थलमा बसिरहेका अन्य विपना, नुनमाया, बुद्ध, अमृत र नाबालकसमेत एक भएर न्युकेल, रड, इँटा, युवराजको युनिफर्मको बेल्ट, ढुंगालगायतले हिर्काएर घिमिरेको हत्या गरे। हत्या गरेपछि घिमिरेको शवलाई म्याट्रेसले छोपेर लुकाए। घिमिरेले लगाएको जुत्ता जलाएर नष्ट गरी जरंखुतर्फ सडकपेटीमा गएर लुके। हत्याको कारणबारे प्रहरीले खोजी गरिरहेको रजौरेले बताए। घिमिरेको हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायत कारण हुन सक्ने एसएसपी रजौरेले बताए।

पक्राउ परेकाहरू लागुऔषध प्रयोगकर्ता हुन्। बसपार्क क्षेत्रमा कार्यरत् रहँदा घिमिरेको सचिनसँग चिनजान थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *