सामाजिक फीड,
जनकपुरधाम, ५ जेठ । जनकपुरधाममा मोटरसाइकललाई कारले ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा. २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
रोहिताको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । धनुषाको शदीनगर नगरपालिका–८ का ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् ।
उनको जनकपुरधामस्थित सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले जनाएका छन् । पछिल्लो एक महिनामा धनुषा दुई पत्रकारको दुर्घटनामा परी निधन भएको छ । केही साताअघि पत्रकार विनयकुमार यादवको दुर्घटनामा परी निधन भएको थियो । यी दुबै घटना शंकास्पद देखिएको भन्दै पत्रकारहरूले सुक्ष्म छानबिनको माग गरेका छन् ।